निस्तार-चाडचाहिँ परमेश्वरको तीन चरणका सात वटा वार्षिक चाडहरूमध्ये पहिलो चाड हो । परमेश्वरले यी चाडहरू खडा गर्नुभएर आफ्ना मानिसहरूलाई पुस्तौँसम्म रहिरहने पवित्र विधि स्वरूप मान्नू भनेर आज्ञा गर्नुभयो ।
पहिलो चरणमा, पवित्र पात्रोअनुसार पहिलो महिनामा पालन गरिने निस्तार-चाड, र अखमिरी रोटीको चाड समाविष्ट छ ।
पहिलो महिनाको चौधौँ दिनको साँझमा परमप्रभुको निस्तार-चाड सुरु हुन्छ । त्यसै महिनाको पन्ध्रौँ दिनमा परमप्रभुको निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ ।
लेवी २३:५-६
दोस्रो चरणका चाडहरूमा पुनरुत्थानको दिन र पेन्तिसकोसको दिन समाविष्ट छ । तेस्रो चरणमा तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड पर्दछ, जुन पवित्र पात्रोको सातौँ महिनामा पालन गरिन्छ ।
बाइबलको केन्द्रबिन्दु नै निस्तार-चाड हो
बाइबलको केन्द्रबिन्दु नै निस्तार-चाड हो, यो चाड परमेश्वरलाई पछ्याउन चाहनेहरूको निम्ति अत्याधिक बहुमूल्य छ । निस्तार-चाडद्वारा, परमेश्वरले विपत्तिबाट सुरक्षा प्राप्त गर्ने, पाप-क्षमा र अनन्त जीवन, जस्ता असंख्य आशिष् प्रदान गर्नुहुन्छ ।
निस्तार-चाडको उत्पत्ति
कुनै समय, इस्राएलीहरूले मिश्रमा दासत्वको जीवन बिताएका थिए । करिब ४३० वर्षसम्म इस्राएलीहरूले दासत्वबाट चाँडो उन्मुक्त हुन परमेश्वरसँग विलाप गरे । सन् १४९८मा, इस्राएलीहरूलाई फारोको दासत्वबाट छुटकारा दिन मोशा अगमवक्तालाई पठाउनु भएर तिनीहरूको प्रार्थनाको उत्तर दिनुभयो । तर फारोले इन्कार गर्दा, परमेश्वरले रगतको विपत्ति, भ्यागुताको विपत्ति, भुसुनाको विपत्ति, झीँगाको विपत्ति, गाईबस्तुमा विपत्ति, खटिराको विपत्ति, असिनाको विपत्ति, सलहको विपत्ति र अन्धकारको विपत्तिजस्ता, विपत्तिहरू झारिदिनुभयो । दसौँ र अन्तिम विपत्ति, मानिस र पशु दुवैका पहिले जन्मेकोलाई नाश गर्ने विपत्ति झार्नु अघि, परमेश्वरले मोशा र इस्राएलीहरूलाई विपत्तिबाट बाँच्नको निम्ति निस्तार-चाड पालन गर्ने आज्ञा दिनुभयो ।
मिश्रदेशमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, … इस्राएलका सारा समुदायलाई यसो भन्, “तिनीहरू हरेकले आ-आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एउटा-एउटा पाठो ल्याएर राखोस् … । त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून् । तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसमा दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन् । … हतार-हतार गरी तिमीहरूले त्यो खानू । यो परमप्रभुको निस्तार-चाड हो … जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्न नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन ।”
प्रस्थान १२:१-१३
ढोकाको चौकोसका खम्बाहरू र माथिल्लो भागमा निस्तार-चाडको थुमाको रगत लगाएर, इस्राएलीहरू पहिले जन्मेका नाश हुने विपत्तिबाट सुरक्षित भएका थिए, र लामो समयको दासत्वको जीवनबाट मुक्त भएका थिए ।
पछि, तिनीहरूले प्रतिज्ञाको भूमि कनानतर्फ आफ्नो यात्रा सुरू गरे ।
इस्राएलीहरूले निस्तार-चाडद्वारा परमेश्वरको शक्ति महसुस गरे । यो नै निस्तार-चाडको उत्पत्ति हो । साथै परमेश्वरले निस्तार-चाडलाई पुस्तौं सम्म रहिरहने विधि स्वरूप मान्नू भन्ने आज्ञा दिनुभयो ।
“त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ । तिमीहरूले पुस्तौँसम्म रहिरहने विधि स्वरूप मान्नू ।”
प्रस्थान १२:१४
नयाँ करार निस्तार-चाड
पुरानो करारमा, परमेश्वरले आफ्ना मानिसहरूलाई तिनीहरूको शत्रुबाट बचाउनुभयो, र निस्तार-चाड पालन गर्दा तिनीहरूलाई शारीरिक आशिष् पनि दिनुभयो । नयाँ करारमा चाहिँ, परमेश्वरले आफ्ना मानिसहरूलाई, पाप-क्षमा, अनन्त जीवन, स्वर्ग-राज्य फर्कने प्रतिज्ञा, जस्ता आत्मिक आशिष्हरू दिन निस्तार-चाड पालन गर्नू भनेर आज्ञा गर्नुभयो ।
अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं ?” उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, … म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार–चाड मान्नेछु ।”
मत्ती २६:१७-१८
नयाँ करारमा येशू ख्रीष्टले निस्तार-चाड पालन गर्नुभएको छ । तर उहाँले थुमालाई बलि गर्नुभएको वा त्यसको रगत ढोकाको चौकोसमा लगाउनुभएको छैन ।
तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । ’cause यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
मत्ती २६:२६-२८
“यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
लूका २२:२०
नयाँ करार निस्तार-चाडको समयमा, येशूज्यूले आफ्नो देह र रगतद्वारा पाप-क्षमा गर्ने प्रतिज्ञा गर्नुभएको छ । येशूज्यूले आफ्ना मानिसहरू अथार्त् ख्रीष्टलाई विश्वास गर्नेहरूको निम्ति निस्तार-चाड खडा गरिदिनुभयो । निस्तार-चाडको महत्व पाप-क्षमाभन्दा अझ बढी रहेको छ । यो अनन्त जीवन पाएर स्वर्ग-राज्य प्रवेश गर्ने एक मात्र तरिका हो ।
“स्वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैन । स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ । कसैले यो रोटी खायो भने त्यो सधैँ भरि जिउनेछ । र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्यो चाहिँ मेरो देह हो ।” … येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ र अन्त्यको दिनमा म त्ससलाई जीवित पार्नेछु ।”
यूहन्ना ६:५०-५४
येशूज्यू स्वर्गारोहण हुनुभएपछि, चेलाहरूले प्रेरितहरूको युगमा पनि निस्तार-चाड पालन गरिरहे । अहिले यो वर्तमान समयमा, परमेश्वरको मण्डलीले येशूज्यूले २,००० वर्षअघि, पवित्र पात्रोअनुसार चौधौँ दिनमा खडा गर्नुभएका नयाँ करार निस्तार-चाड पालन गर्दछ ।