बिप्तस्माको निम्ति प्रयोग गरिने पानीमा परमेश्वरको अनन्त जीवनको प्रतिज्ञा
बाइबलअनुसार, परमेश्वरलाई विश्वास गर्नु, मण्डली जानु, र बाइबल अध्ययन गर्नुको उद्देश्यचाहिँ हाम्रो आत्माले अनन्त जीवन पाउनको निम्ति हो । अनि परमेश्वरले बप्तिस्माद्वारा यी कुराहरूको प्रतिज्ञा गर्नुभएको छ ।
तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ ।
१ पत्रुस १:९
समाज विभिन्न प्रतिज्ञाले बनिएको हुन्छ, बंधक अनुबंध, विवाह इत्यादि … । कागज पनि कसरी प्रयोग हुने हो सोही अनुसार विभिन्न प्रतिज्ञा रहेको हुन्छ -१०० डलरको पसलको रसिद ।
त्यसोभए बप्तिस्माको निम्ति प्रयोग हुने पानीचाहिँ नि ? पानीचाहिँ पानी हो, तर बप्तिस्माको निम्ति प्रयोग हुने पानीमा परमेश्वरबाट अनन्त जीवनको प्रतिज्ञा रहेको हुन्छ ।
बप्तिस्माको अर्थ
यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ । यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो । यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ ।
१ पत्रुस ३:२१
बप्तिस्माद्वारा, परमेश्वरले हाम्रो पाप-क्षमा गरिदिनुभई हामीलाई परमेश्वरको सन्तान बनाइ, प्रतिज्ञा गर्नुभएको अनन्त जीवन दिनुभई, स्वर्ग प्रवेश गर्ने गराउनुहुन्छ ।
किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ । किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ ।
गलाती ३:२६-२७
येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन ।”
यूहन्ना ३:५
पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप–क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ ।”
प्रेरित २:३८
बप्तिस्मा कहिले लिनुपर्छ
बाइबलअनुसार, बप्तिस्मा लिन ढिला गर्नुहुँदैन तर ख्रीष्टको असल खबर सुनेर महसुस गर्नेबित्तिकै लिनुपर्दछ । पुरानो करार र नयाँ करारमा हामीले आजै बप्तिस्मा लिनुपर्छ, र भविष्यमा के हुन्छ भन्ने थाहा नभएकोले भोलिको निम्ति सार्नु हुँदैन भन्ने परमेश्वरको शिक्षा रहेको छ ।
भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन ।
हितोपदेश २७:१
उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो । त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ ?’ तब त्यसले भन्यो, ‘म यसो गर्नेछु– आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु । अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धैरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ । सुख-चैनमा बस् । खा, पि, र मोज गर्’ ।”
“तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने ?’”
“आफ्नो निम्ति धन–सम्पत्ति थुपार्ने, तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ ।”
लूका १२:१६-२१
परमेश्वरसँग घनिष्ट सम्बन्ध बनाउनको निम्ति प्रथम पाइला बप्तिस्मा लिएर उहाँलाई सही तरिकाले चिनेर उहाँको आज्ञाहरू पालन गर्नुपर्दछ ।
बप्तिस्माको ठाउँ
त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ । त्यहाँ मरुभूमिको बाटो छ ।” अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए । उनी येरूशलेममा आराधना गर्न गएका थिए । उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी यशैया अगमवक्ताको पुस्तक पढिरहेका थिए । तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग ।”
फिलिप तिनीकहाँ दौडेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढिरहेको सुनेर उनले सोधे, “तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ ?”
तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र ?” अनि तिनले फिलिपलाई रथमा चढी तिनको साथमा बस्ने अनुरोध गरे । तब तिनले पढिरहेका धर्मशास्त्रको उही खण्डबाट, फिलिपले तिनलाई येशूज्यूको असल खबर सुनाए । अनि उहाँहरू बाटोमा जाँदाजाँदै, केही पानी भएको ठाउँनेर आइपुगे, ती नपुंसकले भने, “हर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ ?” तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा आर्ले र तिनलाई बप्तिस्मा दिए ।
प्ररित ८:२६-३७
कर्नेलियसले प्ररित पत्रुसलाई आफ्नो घरमा स्वागत गरे, जहाँ उनले कर्नेलियस, तिनको परिवार र साथीभाइलाई त्यहीँ दिन बप्तिस्मा दिएका थिए । (प्रेरित १०:४७-४८)
प्रेरित पावलले, तिनीहरूले मुक्ति पाउन चाहेकोले तिनको पुरै परिवारलाई बप्तिस्मा दिएका थिए । उक्त घटना भौचालो गएपछि त्यहीँ रात घटेको थियो ।
उनीहरूले तिनीहरूलाई निकै छडी लगाएपछि तिनीहरूलाई झ्यालखानमा हालिदिए, र झ्यालखानका हाकिमलाई यी कैदीहरूलाई कडा निगरानीमा राख्ने हुकुम दिए । यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए ।
तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए । तब एक्कासि एउटा ठूलो भौचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले । झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानको ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले अपहत्या गर्ने विचारले आफ्नो तरवार थुते । तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं ।”
तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे । तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?”
अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ-तपाईं र तपाईंका परिवारले।” तिनीहरूले उनलाई र उनका घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए । तब रातको त्यही घडी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए । अनि उनी र उनका परिवारले तुरुन्तै बप्तिस्मा लिए ।
प्रेरित १६:२३-३३
बप्तिस्माचाहिँ हामीहरूको आत्माको पुन:जन्म हो, र परमेश्वरलाई विश्वास गर्न सुरू गरेको क्षण हो । त्यसैले, सुरू मण्डलीका ख्रीष्टियानहरूले, समय र ठाउँको परवाह नगरी ढिला नगरी, तुरुन्तै बप्तिस्मा लिएका थिए ।
बप्तिस्मा दिने तरिका
सबैभन्दा महत्वपूर्ण पक्षचाहिँ बप्तिस्मा कसरी लिने भन्ने बारे हो । येशूज्यूले आफ्ना चेलाहरूलाई सही बप्तिस्मा चाहिँ पिताको नाउँ, पुत्रको नाउँ र पवित्र आत्माको नाउँमा दिन सिकाउनुभयो ।
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ । मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।”
मत्ती २८:१८-२०
परमेश्वरको तीन वटा नाउँ प्रयोग नगरेमा, त्यो बप्तिस्माचाहिँ अमान्य हुन्छ । सुरूको मण्डलीका विश्वासीहरूलाई डोर्याएका प्रेरित पावलले पनि सही तरिकाले गर्नको निम्ति, तिनीहरूलाई पुन: बप्तिस्मा डोर्याएका थिए ।
अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्तो बप्तिस्मा लियौ ?” उनीहरूले भने, “यूहन्नाको बप्तिस्मा ।” तब पावलले भने, “यूहन्नाले दिएको बप्तिस्माचाहिँ पश्चात्तापको बप्तिस्मा थियो । उनीपछि आउनुहुने व्यक्ति, अर्थात् येशूमाथि विश्वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे ।” यो कुरा सुनेर उनीहरू प्रभु येशूको नाउँमा बप्तिस्म लिए ।
प्रेरित १९:३-५
पुत्रको युगमा, विश्वासीहरूले येशूको नाउँमा बप्तिस्मा लिनुपर्दथ्यो । अहिले, पवित्र आत्माको युगमा, बाइबलको शिक्षाअनुसार, पिताको नाउँ यहोवा, पुत्रको नाउँ येशू, र पवित्र आत्माको नाउँ ख्रीष्ट आन साङ होङज्यूको नाउँमा बप्तिस्मा लिनुपर्छ । यो नै जीवन दिने बप्तिस्मा हो ।