बाइबलमा, येशूज्यू दोस्रो पटक आउनुहुँदा उहाँलाई चिन्न सक्ने गरी चिन्ह दिइएको छ ।
२,००० वर्षअघि, पुरानो करारमा येशूज्यू यो पृथ्वीमा आउनुहुने अगमवाणी गरिएको थियो । बाइबलको अगमवाणीलाई हेरेर, चेलाहरूले ख्रीष्टलाई चिन्न सके र निर्धक्क भई येशूज्यूलाई मुक्तिदाताको रूपमा विश्वास गरे ।
यूहन्ना १:४५ फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरू पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं ।”
त्यसैगरी, बाइबलमा येशूज्यू दोस्रो पटक आउनुहुँदा, उहाँलाई चिन्न सक्ने चिन्ह दिइएको छ । आन साङ होङज्यूले यी अगमवाणीहरू पूरा गर्नुभएकोले, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज उहाँलार्इ दोस्रो आगमनका ख्रीष्टको रूपमा विश्वास गर्दछ ।
येशूज्यूको प्रथम आगमन
नयाँ करार खडा गरेर, आफ्नो उद्देश्य पूरा गर्नुभई स्वर्ग उचालिनु भएपछि, रोमी संस्कृति र परम्पराद्वारा प्रभावित भएर ख्रीष्टको शीक्षा बिस्तारै परिवर्तन हुन थाल्यो । ई.सं. ३२१मा, शनिबार पालन गरिने शबाथ-दिन आइतबारमा परिवर्तन भयो । त्यसपछि ई.सं. ३२५मा, निकेयाको धार्मिक सम्मेलनद्वारा निस्तार-चाड पूर्ण रूपमा रद्द भयो, जसले संसारलाई धार्मिक अन्धकारमा पुर्यायो ।
येशूज्यूले प्रथम आगमनमा सिकाउनुभएको सम्पूर्ण शिक्षाहरू पुन: स्थापना गर्न, र मुक्तिमा डोर्याउने सत्यता पुन:खडा गर्न उहाँ दोस्रो पटक आउनै पर्छ ।
हिब्रू ९:२८ त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।
दोस्रो आगमनका येशूज्यूलाई चिन्ने चिन्ह
येशूज्यू पृथ्वीमा हुनुहुँदा, उहाँले आफ्नो दोस्रो आगमनको विषयमा अगमवाणी गर्नुभएको कुरा चेलाहरूले बुझेका थिए । चेलाहरूले येशूज्यूलाई उहाँको दोस्रो आगमनको चिन्हको विषयमा सोध्दा, उहाँले तिनीहरूलाई अञ्जीरको रूखबाट शिक्षा लेओ भन्नुभयो ।
मत्ती २४:३२-३३ “तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।”
ख्रीष्टले अञ्जीरको रूखले पालुवा फेर्दा, दोस्रो आगमनका येशूज्यू ढोकामै हुनुहुन्छ भनी जान भन्नुभयो । यो नै परमेश्वरका मानिसहरूले ख्रीष्टलाई चिन्ने चिन्ह भएकोले, अञ्जीरको रूखबाट शिक्षा लिन र त्यसको साँचो अर्थ जान्न आवश्यक छ ।
अञ्जीरको रूखबाट शिक्षा
लूका १३:६-७ त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो : “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो । त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु तर पाउँदिनँ। यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने ?’”
दृष्टान्तको दाखबारीको मालीले येशूज्यूलाई सङ्केत गर्दछ । बाइबलमा अञ्जीरको रूखले इस्राएललाई सङ्केत गर्दछ । येशूज्यूले तीन वर्षसम्म सुसमाचारको पश्चात्तापको फल खोज्दै इस्राएलीहरूलाई सुसमाचार सुनाउनुभयो(मत्ती ३:८) । बाइबलको अर्को वचनद्वारा पनि दाखबारीमा भएको अञ्जीरको रूखले इस्राएलीहरूलाई सङ्केत गरेको कुरा निश्चित गर्न सकिन्छ ।
यर्मिया २४:५ “परमप्रभु इस्राएका परमेश्वर यसो भन्नुहुन्छ: ‘यी राम्रा अञ्जीरहरूजस्तै मैले यस देशबाट, अर्थात् यहूदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्यति नै राम्रा सम्झन्छु ।’”
परमेश्वर इस्राएलीहरूलाई अञ्जीर जस्तै राम्रा सम्झनुहुन्छ, बाइबलमा अञ्जीरको रूखले इस्राएल देशलाई सङ्केत गर्छ भन्ने कुरा बुझ्न सक्छौं ।
इस्राएलको विनाश
लूका १३:७मा येशूज्यूले आफ्ना चेलाहरूलार्इ फल नभएको अञ्जीरको रूखलाई काट भन्नुभयो । येशूज्यूले तीन वर्षसम्म प्रचार गर्नुभएको सुसमाचारलाई इस्राएलीहरूले इन्कार गरेकाले, त्यो काटियो । यो चाहिँ इस्राएल विनाश हुने अगमवाणी थियो । ख्रीष्टको अगमवाणीअनुसार, इस्राएल देश ई.सं.७०मा रोमी सैनिकद्वारा नष्ट भयो ।
इस्राएलको विनाशसँगै, देशविहिन भएका इस्राएलीहरू संसारभरी छरिए ।
यसरी इस्राएल देश, अञ्जीरको रूख नष्ट भयो र बाँझो छोडियो ।
इस्राएलको पुन: स्थापना
तर, येशूज्यूको अगमवाणीको अञ्जीरको रूख सधैँभरि निर्जीव भइरहेन । येशू ख्रीष्टले जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, र पुन: जीवित हुन्छ, तब म ढोकामै हुनुहुन्छ भन्ने कुरा जान, भनेर सिकाउनु भएको छ ।
करिब १,९०० वर्ष पछि, उल्लेखनीय घटना घट्यो , अन्तत: इस्राएल देशले आफ्नो सार्वभौमिकता प्राप्त गर्यो । असम्भव विजय जस्तो देखिए तापनि येशूज्यूको वचनअनुसार भयो ।
ई.सं. १९४८मा, अञ्जीरको रूखले पालुवा फेर्यो, र इस्राएल देशले आफ्नो स्वतन्त्रता घोषणा गर्यो, जुनचाहिँ सारा संसारको निम्ति दोस्रो आगमनका ख्रीष्ट आउनुभयो भन्ने चिन्ह थियो ।
ढोकामै छु
ख्रीष्ट फेरि आउनुहुँदा, बाइबलमा उहाँ ढोकामै हुनुहुन्छ भनेर लेखिएको छ ।
प्रकाश ३:२० “हेर, म ढोकामा उभिएर ढकढक्याउँछु । कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ ।”
दोस्रो आगमनका येशूज्यूले हाम्रो ढोका ढकढक्याउनुहुन्छ र उहाँले हामी सँगै भोजन खानुहुनेछ भन्नुको अर्थ उहाँले पुन: नयाँ करार निस्तार-चाड प्रचार गर्नुहुन्छ, र अनन्त जीवन दिनको निम्ति उहाँको देह र रगत खान भन्नुहुन्छ ।
(यूहन्ना ६:५३)
सन् १९४८ मा अञ्जीरको रूख, इस्राएल देश पुन: जीवित भएको वर्ष, ख्रीष्ट आन साङ होङज्यूले बप्तिस्मा लिनुभयो । अगमवाणीअनुसार, आन साङ होङज्यूले नयाँ करारको सुसमाचार प्रचार गर्नुभयो, र निस्तार-चाड सत्यता पुन: स्थापना गर्नुभयो । यसको अर्थ ख्रीष्ट आन साङ होङज्यू नै ई.सं. ३२५मा लोप भएको सत्यता पुन: स्थापना गरिदिनुहुने दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ ।
२,००० वर्षअघिका चेलाहरूले बाइबलद्वारा शरीरमा आउनुभएका परमेश्वरलाई चिन्न सकेजस्तै, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सन्तहरू पनि हामीलाई मुक्ति दिनको निम्ति दोस्रो पटक मानिसको रूपमा आउनुभएका आन साङ होङज्यूलाई परमेश्वरको रूपमा चिन्न सकेका हुन् ।
यस्तै बाइबलको अध्ययनद्वारा, यहाँहरूले ख्रीष्ट आन साङ होङज्यूले दोस्रो आगमनका येशूज्यूको रूपमा पूरा गर्नुभएको कुराहरू अझ अध्ययन गर्नुहुनेछ भन्ने आशा गर्दछौं ।